भूकम्पबाट पीडित परिवार तथा आफन्तलाई भेट्न नेपाल फर्कन चाहने कामदारलाई दक्षिण कोरियास्थित नेपाली दुतावासले सघाउने भएको छ ।दुतावासले भूकम्पबाट पीडित आफ्ना परिवारसंग भेट्न नेपाल फर्कन कम्पनीहरुसँग समन्वय गरी बिदा मिलाइदिन समन्वय गरेको छ । बिदा नमिलेको भएमा दुतावासमा सम्पर्क गर्न कामदारहरुलाई सूचित गरिएको छ ।
कोरियाको विदेश मन्त्रालयका अधिकारीसंग नेपाली कामदारका लागि बिदा मिलाइदिन औपचारिक आग्रह गरिएकोमा सकरात्मक प्रतिक्रिया पाएको दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।
विदेश मन्त्रालयका अधिकारीले साना तथा मझौला उद्योग मन्त्रालयमा तत्काल परिपत्र गरेर विदाको व्यवस्था मिलाउने आश्वासन नेपाली दूतवासलाई दिएको थियो । नेपाली कामदारहरु साना तथा मझौला उद्योग मन्त्रालयको मातहत रहने कम्पनीमा कार्यरत रहेका हुन्छन् ।
नेपाल फर्कन समस्यामा परेको कामदार हालसम्म नभेटिएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइएको श्रम सहचारी अनिल गुरुङ बताए ।दक्षिण कोरियामा काम गर्ने केही नेपाली युवा उद्धार तथा राहतमा सघाउन आफ्ना गाउँघर पुगेका छन् ।
यौंग स्टार फाउन्डेसनले आफ्ना केही सदस्य भूकम्पले बढी प्रभावित काभ्रे र सिन्धुपाल्चोकमा खटिएको सस्थाका सल्लाहकार यम श्रेष्ठले जानकारी गराए । २८ हजारको संख्यामा रहेका नेपाली कामदारमा अधिकांश भूकम्पबाट प्रभावित परिवारका रहेका छन् । परिवार र आफन्तमा मृत्यु तथा भौतिक सम्पति क्षति भएको परिवारलाई सबै मिलेर सघाउनुपर्ने गोरखा परिवार समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए ।
sources:-Hellonepalkorea.com